खैरेनीटार (तनहुँ), फागुन - रोजागारीका लागि लिबिया पुगेका खैरेनीटार–२, दगामका लालबहादुर थापाको परिवार अहिले निकै तनावमा छ। पतिको पीरमा रहेकी पत्नी बिन्दुलाई भोक र निन्द्रा लाग्न छाडेको एक साता भइसक्यो। श्रीमानलाई केही होला कि भन्नेमा उनी निकै चिन्तित छिन्।
दस महिनाअघि रोजगारीका लागि लिबिया पुगेका थापासँग पत्नी बिन्दुको पछिल्लोपटक साताअघि फोनमा कुरा भएको थियो। 'खाना खान पाएका छैनौं, पाउरोटी खाएर बसिरहेका छौं भन्नुभएको थियो,' श्रीमानको वाक्य सम्झँदै बिन्दुले भनिन्, 'लिबियामा आन्दोलन सुरु भएदेखि हामीलाई निकै चिन्ता लागेको छ।'
१ लाख ३० हजार रुपैयाँ खर्चेर उनी लिबिया पुगेका थिए। 'जसोतसो जाँदा लिएको ऋण तिर्नुभएको छ, अब कमाइ होला भन्ने बेला आन्दोलन सुरु भएपछि फिर्ता हुनुपरेको छ,' उनले भनिन्, 'उद्धारको क्रममा कम्पनीले इजिप्ट लैजाँदैछ भन्नुभएको थियो, त्यसपछि सम्पर्क भएको छैन।'
१४ महिने छोरीसहितको परिवार अहिले लालबहादुरको पर्र्खाइमा छ। लिबिया जानुअघि तीन वर्ष कतार बसेका थापा बढी आम्दानी होला भन्ने सोचाइले हाउस वायरिङको काममा लिबिया पुगेका थिए।
'केही आम्दानी होला भनेको त ज्यानै जाने अवस्था आएको छ,' बिन्दुले मलीन हुँदै भनिन्, 'सरकारले जतिसक्दो छिटो उद्धार गर्ने र फिर्ता ल्याउने पहल गरिदिए हुन्थ्यो।'
बिन्दुका अनुसार मासिक २ सय ५० अमेरिकी डलर पारिश्रमिकमा उनी लिबिया पुगेका थिए। परिवारका तीन छोरामध्ये लालबहादुर माइला हुन्। उनका दाजु मलेसिया र भाइ अफगानिस्तान छन्। घरमा बुबाआमासहित श्रीमती र छोरी छन्।
लालबहादुरजस्तै दगामकै केशबहादुर थापाको परिवार पनि अहिले चिन्तामा छ। उनी पनि जेठमा लिबिया पुगेका थिए। पत्नी कमलाका अनुसार शुक्रबार बिहान केशबहादुरसँग पछिल्लोपटक फोन सम्पर्क भएको थियो।
'हामी इजिप्ट जाँदैछौं, अहिले ट्रकमा छौं, धेरै चिन्ता गर्नुपर्दैन भन्नुभएको थियो,' कमलाले पतिसँग भएको कुरा सम्झँदै भनिन, 'तर लामो समय कुरा हुन सकेन। अब फोन लाग्दैन मिलेसम्म म आफै गर्छु भन्नुभएको छ, अहिलेसम्म फोन आएको छैन।'
दुई छोरीका पिता केशबहादुर पनि १ लाख ३० हजार रुपैयाँ शुल्क तिरेर पेन्टिङ गर्ने कामका लागि लिबिया उडेका थिए। 'जसोतसो १ लाख ४० हजार रुपैयाँ पठाउनुभएको थियो, जाँदा लागेको ऋण तिरेर सकिएको छ,' उनले भनिन्, 'अब केही कमाइ गर्ने बेला ज्यान जोगाएर फर्किनुपरेको छ।' उनले पति घरभित्र नभित्रिएसम्म परिवारलाई सन्तोष नलाग्ने बताइन्।
साताअघि पतिसँग कुरा हुँदा पाउरोटीमात्र खाएर बसेको परिवारलाई जानकारी दिएका थिए। तर शुक्रबार खाना खान पाएनपाएको केही बताएनन्। लिबिया जानुअघि दुबईमा तीन वर्ष बिताएका केशबहादुर परिवारका ४ छोरामध्ये कान्छा हुन्।
अहिले उनको घरमा ६५ वर्षीया आमा, पत्नी र दुई छोरीमात्र छन्। अन्य दाजु छुट्टै बस्छन्। छोरा अप्ठेरोमा परेको भन्ने जानकारी पाएकी केशबहादुरकी आमा पनि चिन्तामा छिन्। उनले कहिले छोरा घर फर्केला भन्ने चिन्ता लागेको बताइन्।
पशुपतिमा शिवरात्रीमा देखियका केही झलक :जय भोला !!!
0 comments:
Post a Comment