११ वैशाख, सिरहा । सीमास्तम्भ नभएको फाइदा उठाउँदै भारतीय नागरिकले दसगजा अतिक्रमण गरी खेतीपाती गर्नुका साथै घर बनाएर बस्न थालेका छन् ।
सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट लगदी-गदियानीका अनुसार गोठ र लगदी-गदियानीमा २३१ सीमास्तम्भ भएकामा त्यसमध्ये ३४ वटा सीमास्तम्भ हराएकाले दसगजा क्षेत्र अतिक्रमणमा परेको सशस्त्र प्रहरी निरीक्षक भीम चन्दले बताउनुभयो । उक्त क्षेत्रमा जङ्गे पिलर आठवटा, सानो पिलर १२६ वटा, मर्मत गर्नुपर्ने ३९ वटा, हराएका ३४ वटा, पुरिन लागेका १६ वटा र जमिनमा ढलेका आठवटा पिलर रहेका छन् ।
२८ नम्बर सीमास्तम्भमा भारततर्फबाट दसगजा अक्रिमण गरी भारतीय नागरिक जयनारायण मुखिया, कामेश्वर मुखिया, बैजु मुखियालगायतले घरटहरा बनाएर खेतीपाती गर्दै आइरहेका छन् । पश्चिम लगदिगोठ र पूर्वमा सन्हैठा क्षेत्रअन्तर्गत नेपाल-भारत सीमा क्षेत्रमा सीमास्तम्भ २६० (३) देखि २६५ (२०) सम्म रहेको छ भने माडर खैरटोकादेखि ढाडीसम्म ३६२ वटा सीमास्तम्भ रहेका छन् । जसमध्ये २३१ वटा सीमास्तम्भ लगदिगदियानी क्षेत्रमा मात्र रहेका छन् ।
भारतीय नागरिकद्वारा दसगजा क्षेत्र अतिक्रमण गरी घरटहरा बनाएर खेतीपाती गर्दै आइरहेकाले उनीहरुलाई हटाउन भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग कुराकानी भइरहेको सशस्त्र प्रहरी निरीक्षक चन्दले बताउनुभयो । सिरहा जिल्लाको अति संवेदनशील तथा असुरक्षित क्षेत्र मानिएको सो ठाउँमा विशेष सुरक्षा योजना लागू भएपछि शान्तिसुरक्षा सन्तोषजनक रहेको बताइएको छ ।
7:25 AM
namaste Tanahun


0 comments:
Post a Comment